काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चियामा कृत्रिम बाह्य रंग मिसावट गरिएको पाइएको भन्दै चिया व्यवसायीहरूलाई सचेत गराएको छ।
विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको चियाको नमुना प्रयोगशालामा विश्लेषण गर्दा कृत्रिम बाह्य रंग मिसावट गरिएको पाइएको जनाएको छ। उक्त उत्पादनको सम्बन्धमा विभागले २०८३/०६/०५ गते सम्बन्धित व्यवसायीलाई चिया Recall गर्न आदेशसमेत जारी गरिसकेको जनाएको छ।
विभागका अनुसार सो उद्योगका अन्य उत्पादनहरू पनि रोक्का राखी थप अनुसन्धान भइरहेको छ। घटनापछि चियामा कृत्रिम बाह्य रंग मिसाउने तथा अन्य प्रकारका मिसावट नगर्न सम्पूर्ण चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री वितरकहरूलाई विभागले सूचित गरेको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३/०६/१२ गते जारी गरेको सूचनामा चियाको गुणस्तर तथा खाद्य सुरक्षाप्रति व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।





