zतीन दिनदेखिको लगातार वर्षा र प्राकृतिक विपत्तिका कारण नेपाल–चीन स्थल व्यापार पूर्णरूपमा प्रभावित भएको छ। दसैं आउन करिब दुई साता बाँकी रहँदा चीनसँग जोडिएका तातोपानी, रसुवागढी र कोरला नाका जाने सडक तथा संरचनामा क्षति पुगेपछि स्थलमार्गबाट हुने आपूर्ति प्रभावित भएको हो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। तर, प्रमुख व्यापारिक नाकातर्फका सडक अवरुद्ध हुँदा ठूलो परिमाणको व्यापारिक ढुवानी रोकिएको छ।
पहिरोको जोखिमका कारण तातोपानी–खासा नाका यसअघि नै बन्द थियो। भदौ १० को भोटेकोशी बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने आवागमन पनि रोकिएको छ। पछिल्लो बाढीले कोरला नाका पुग्ने सडकसमेत अवरुद्ध भएपछि तीनवटै प्रमुख स्थल नाका प्रभावित भएका हुन्।
तातोपानी र रसुवागढी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढेको थियो। भदौ १० देखि २५ गतेसम्म ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारी नेपाल भित्रिएको तथा भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सारले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको स्रोतले जनाएको छ।
तर कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गका केही पुलका एप्रोच सडकमा क्षति पुर्याएपछि कोरला नाका पुग्ने मालवाहक आवागमन रोकिएको छ। मुस्ताङ भन्सारका अनुसार भन्सार क्षेत्रमा डेढ सयभन्दा बढी मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन् भने यार्ड र नाकामा ३–४ सयसम्म विद्युतीय सवारी र कन्टेनर थन्किएका छन्।
दसैं लक्षित चिनियाँ सामानको आपूर्ति पनि प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार अहिलेसम्म दसैंका लागि ल्याइएका करिब २०–३० प्रतिशत सामान मात्र काठमाडौं आइपुगेको छ। ढुवानी खर्च र डलरको मूल्य बढ्दा आगामी सामान महँगिन सक्ने व्यवसायीहरूको भनाइ छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले तीनवटै नाका बन्द हुँदा बजार र आपूर्ति व्यवस्था प्रभावित भएको बताएका छन्। उनले तातोपानी नाका खुलाउन कूटनीतिक पहल र कोरला नाकाको पूर्वाधार, जनशक्ति, नेटवर्क तथा सडक सुधारमा सरकारको ध्यान जानुपर्ने बताएका छन्।
सडक विभागले अवरुद्ध सडक मर्मतको काम अघि बढाइरहेको बताइएको छ। बाटो खुलेपछि रोकिएका सामानको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।





