मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १३
4
0
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
सारांश
स्याङ्जाको वालिङ नगरपालिका–१३ तारुखोलामा किसानले धान र मकैजस्ता खाद्यान्न बाली छाडेर व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन्। तारुखोलामा क...


स्याङ्जाको वालिङ नगरपालिका–१३ तारुखोलामा किसानले धान र मकैजस्ता खाद्यान्न बाली छाडेर व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन्।

तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकाको कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत खेती गरिएको फार्म सञ्चालक दयाराम पाठकले बताए।

पाठकका अनुसार खाद्यान्न बालीको तुलनामा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले समेत क्षति नगर्ने भएकाले यसको खेती विस्तार गरिएको हो।

गत फागुनमा रोपिएको खुर्सानीले अहिले उत्पादन दिन थालेको छ। हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलको तरकारी मण्डी तथा स्थानीय बजारमा बिक्री भइरहेको छ।

हाल अकबरे खुर्सानी प्रतिकिलो करिब २२० रुपैयाँमा बिक्री भइरहेको छ। फार्मले अहिलेसम्म करिब ७ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरिसकेको जनाएको छ।

किसानका अनुसार उत्पादन भएको खुर्सानीको माग राम्रो रहे पनि मागअनुसार बजारमा पुर्‍याउन सकिएको छैन। पहिलो पटक व्यावसायिक रूपमा खेती गरिएको भएकाले आगामी दिनमा क्षेत्रफल थप विस्तार गर्ने तयारी गरिएको छ।

कृषि विकास परियोजना (हेफर) ले फार्मलाई कृषि प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक, मल तथा खुर्सानी सुकाउने मेसिन उपलब्ध गराएको छ।

फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेती पनि गरिएको छ। उत्पादित कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गर्ने व्यवस्था मिलाइएको छ।

स्थानीय किसानका लागि यो खेतीले बाँदरबाट हुने क्षति कम हुने र कम प्रयोग भएको जमिनबाट समेत आम्दानी लिन सकिने सम्भावना देखाएको छ।


साझा गर्नुहोस्: