मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको आदेश : ग्राहकलाई १२ लाख ७८ हजार रुपैयाँ क्षतिपूर्ति

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ६
5
0
बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको आदेश : ग्राहकलाई १२ लाख ७८ हजार रुपैयाँ क्षतिपूर्ति
सारांश
काठमाडौं। विज्ञापनमा ७ देखि १० वर्षसम्म वारेन्टीको दाबी गरेर बिक्री गरिएको बर्जर पेन्ट्सको रङ गुणस्तरअनुसार नपरेपछि उपभोक्ता अदालतले कम्पनी र डिलरलाई ...

काठमाडौं। विज्ञापनमा ७ देखि १० वर्षसम्म वारेन्टीको दाबी गरेर बिक्री गरिएको बर्जर पेन्ट्सको रङ गुणस्तरअनुसार नपरेपछि उपभोक्ता अदालतले कम्पनी र डिलरलाई ग्राहकलाई क्षतिपूर्ति दिन आदेश दिएको छ।

अदालतले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र फ्रेन्ड्स फरइभर ट्रेडिङ्ग प्रा.लि.का सञ्चालक दिनेश गिरीलाई तीन जना उपभोक्तालाई कुल १२ लाख ७८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।

उपभोक्ताहरूले बर्जरको रङ घरमा प्रयोग गरेको ६ देखि ८ महिनामै खुइलिएको भन्दै कम्पनी र डिलरलाई जानकारी गराएका थिए। तर पटक–पटक जानकारी गराउँदा पनि वारेन्टीअनुसार सेवा तथा क्षतिपूर्ति नपाएको भन्दै उनीहरूले अदालतमा उजुरी दिएका थिए।

अदालतले सार्वजनिक विज्ञापनमा ७ वा १० वर्ष वारेन्टीको दाबी गर्ने तर पछि वारेन्टी सर्टिफिकेटमा फरक तथा सीमित शर्त राख्नु उचित नभएको ठहर गरेको छ। विज्ञापन र उत्पादनको लेबलमार्फत उपभोक्तालाई आकर्षित गरेर पछि दायित्वबाट पन्छिन नमिल्ने अदालतको निष्कर्ष छ।

अदालतले उत्पादकले आफ्नो कानुनी दायित्व डिलरसँगको व्यापारिक सम्झौतामार्फत पन्छिन नसक्ने समेत स्पष्ट पारेको छ। वारेन्टी सेवा उपलब्ध गराउने दायित्व उत्पादक र विक्रेता दुवैको हुने फैसलामा उल्लेख छ।

फैसलाअनुसार बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) ले १२ लाख १४ हजार ५०० रुपैयाँ र डिलर पक्षले ६३ हजार ९०० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ। तीन उपभोक्ताले खरिद बिलका आधारमा क्रमशः ३ लाख ४६ हजार १००, ६ लाख ३४ हजार ८०० र २ लाख ९७ हजार ५०० रुपैयाँ पाउनेछन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार