मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

भोटेकोशीको भेलमा बगेर पनि जोगिए सशस्त्र प्रहरीका गोताखोर, अर्को व्यक्तिको समेत बचाए ज्यान

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ९
4
0
भोटेकोशीको भेलमा बगेर पनि जोगिए सशस्त्र प्रहरीका गोताखोर, अर्को व्यक्तिको समेत बचाए ज्यान
सारांश
भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सशस्त्र प्रहरीका गोताखोर सई रमेश थापा जीवितै बाहिरिन सफल भएका छन्। आफूलाई नै बाढीले बगाइरहेको अवस्थामा समेत उनले...

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सशस्त्र प्रहरीका गोताखोर सई रमेश थापा जीवितै बाहिरिन सफल भएका छन्। आफूलाई नै बाढीले बगाइरहेको अवस्थामा समेत उनले हिम्मत नहारी बाढीमा बग्दै आएका अर्का व्यक्तिको समेत उद्धार गरेका हुन्।

१० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि रमेशको नेतृत्वमा रहेको टोलीले सुरक्षाकर्मी तथा आयोजनाका कर्मचारीलाई सुरक्षित स्थानमा पठाउन भूमिका खेलेको थियो। बाढीको जोखिमबारे समयमै जानकारी गराएर साइरन बजाउनसमेत लगाइएको थियो।

टोलीका सदस्यलाई सुरक्षित स्थानतर्फ पठाएपछि अन्तिममा निस्कने क्रममा रमेश आफैं बाढीमा परेका थिए। गोताखोरी तालिमबाट सिकेको सीप र धैर्य प्रयोग गर्दै उनले बाढीको बहावसँगै बग्दै आफूलाई सुरक्षित स्थानतर्फ लैजान सफल भए।

बाढीबाट बाहिरिएपछि पनि उनको उद्धार कार्य रोकिएन। बाढीले बगाउँदै ल्याएका बर्दियाका रामप्रसाद थारुलाई उनले जोखिम मोलेर किनारमा तानेर जीवितै उद्धार गरे। घाइते थारुलाई पछि हेलिकप्टरमार्फत थप उपचारका लागि पठाइएको थियो।

बाढीमा रमेशको मोबाइलसमेत बगेको थियो भने उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो। पछि सेनाको हेलिकप्टरमार्फत उनलाई उद्धार गरिएको थियो।

करिब दुई दशकदेखि गोताखोरी तथा खोज–उद्धारमा सक्रिय रमेशले भोटेकोशीको घटना आफ्नो अनुभवकै सबैभन्दा भयावह घटनामध्ये एक भएको बताएका छन्। उनको कमान्डमा रहेका चार जना सुरक्षाकर्मी भने अझै सम्पर्कविहीन रहेको बताइएको छ।

“कालको मुखबाट फुत्केर आइयो। तालिम नगरेको भए बाँचिँदैनथ्यो,” बाढीबाट जोगिएपछि रमेशले घटनालाई सम्झँदै भनेका छन्।

आफ्नै ज्यान जोखिममा पर्दा पनि अर्को व्यक्तिको जीवन बचाउने रमेश थापाको साहस विपद्का बेला उद्धारकर्मीको तालिम, संयम र कर्तव्यबोधको उदाहरण बनेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार