भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन्। ती भवनका १५२ कोठामा आंशिक र १५६ कोठामा पूर्ण क्षति पुगेको छ।
प्रतिवेदनअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यहाँ ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
उत्तरगया गाउँपालिकाका तीन विद्यालयका छ भवनमा क्षति पुगेको छ। ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा धेरै नौ विद्यालय प्रभावित भएका छन्। ३२ भवनमा क्षति पुगेको विदुरमा ६१ कोठा आंशिक र ८९ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यहाँ मात्रै ३६ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयका १० भवनमा क्षति पुगेको छ। ७७ कोठामा आंशिक र आठ कोठामा पूर्ण क्षति हुँदा १० करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। उक्त विद्यालयमा ४ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ। त्यहाँ १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
विद्यालयका भवनबाहेक शैक्षिक सामग्री तथा अन्य शैक्षिक सम्पत्तिमा मात्रै २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आरडीएनए प्रतिवेदनले बाढी प्रभावित विद्यालय क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि कुल ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।





