असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर ५१ घर र १० गोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।
बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छन्। मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्।
निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्। निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तमानखोला तथा बडिगाड, ढोरपाटन, गलकोटलगायतका क्षेत्रमा पनि घर, गोठ तथा अन्य संरचनामा क्षति पुगेको छ।
दरमखोलाको कटानले गलकोट–९ को वडा कार्यालय बगाएको छ भने तीन झोलुङ्गे पुल र दुई प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ। दुई जलविद्युत् आयोजना, विद्यालय, रिसोर्ट तथा कृषि फार्ममा पनि क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीपहिरोबाट २५६ पशुचौपाया र २१५ कुखुरामा समेत क्षति पुगेको छ।
यसैबीच, निसीखोला गाउँपालिकाले विपद् प्रभावित परिवारलाई राहत वितरण गरेको छ। मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार, पूर्ण क्षति भएका परिवारलाई ३० हजार र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।
पीडित परिवारलाई चामल र त्रिपालसमेत वितरण गरिएको छ।





