मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

बंगालको खाडीको न्यूनचापीय प्रणालीको प्रभावः आजदेखि वर्षा झन् बढ्ने

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २४
4
0
बंगालको खाडीको न्यूनचापीय प्रणालीको प्रभावः आजदेखि वर्षा झन् बढ्ने
सारांश
काठमाडौं — बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविद्हरूका अनुसार...


काठमाडौं — बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविद्हरूका अनुसार आजदेखि वर्षाको क्षेत्र र मात्रा अझै बढ्ने सम्भावना छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा भएको छ।

समाचार तयार पार्दासम्म पाल्पाको बल्ड्याङगढी वर्षामापन केन्द्रमा १२८.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर र शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा ११७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा तथा आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावले देशभर वर्षा हुने सम्भावना छ। त्यसको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा तुलनात्मक रूपमा बढी देखिन सक्ने अनुमान गरिएको छ। तर, पूर्वदेखि पश्चिमसम्म र हिमाली क्षेत्रदेखि तराईसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आजदेखि वर्षा झन् बढ्ने

महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा वर्षा हुने क्रम बढ्नेछ। केही स्थानमा भारीदेखि अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

बाढी र पहिरोको जोखिम

आइतबारसम्म देशका धेरै स्थानमा ठूलो वर्षा हुनसक्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा नदी, खोला र खोल्सामा बाढीको जोखिम बढ्ने मौसमविद्हरूले बताएका छन्।

भारी वर्षाका कारण हवाई तथा सडक यातायातसमेत प्रभावित हुनसक्ने सम्भावना रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार