काठमाडौं। भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ जना मजदुरको सफल उद्धारको नेतृत्व गरेर विश्वभर चर्चित अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङमा जारी उद्धार अभियानलाई आफ्नो जीवनकै कठिन परीक्षामध्ये एक भएको बताएका छन्।
नेपालमा जारी खोज तथा उद्धार अभियानमा प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सामाजिक सञ्जालमार्फत नेपालको अवस्था आफूले विगतमा सामना गरेका उद्धार अभियानभन्दा निकै फरक रहेको बताएका छन्।
उनका अनुसार यहाँ एउटै सुरुङमा सीमित उद्धार नभई फरक–फरक स्थानमा एकैपटक धेरै सम्भावित उद्धार अभियान सञ्चालन भइरहेका छन्। हरेक स्थानमा आफ्नै जोखिम, अनिश्चितता र जोगाउन सकिने जीवनहरू जोडिएको उनको भनाइ छ।
सन् २०२३ मा भारतको सिल्क्यरा सुरुङमा १७ दिनसम्म फसेका ४१ मजदुरको उद्धारलाई स्मरण गर्दै डिक्सले एउटा कठिन परीक्षा पार गर्दैमा जिम्मेवारी समाप्त नहुने बताएका छन्। कठिन परिस्थिति, बढ्दो चुनौती र अनिश्चित परिणामका बीच पनि सही काममा निरन्तर लागिरहनु नै वास्तविक परीक्षा भएको उनले बताएका छन्।
डिक्सका अनुसार सिल्क्याराले आफूलाई न्यून सम्भावना र असम्भवबीचको फरक सिकाएको थियो भने नेपालले त्यसलाई अझ गहिरो रूपमा सिकाइरहेको छ। धेरै जीवन उद्धारकर्तामाथि निर्भर हुँदा आशालाई अनुशासन र करुणालाई कार्यमा बदल्नुपर्ने उनको भनाइ छ।
रसुवामा बाढी आएको सुरुवाती दिनदेखि नै डिक्सले नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिँदै आएका थिए। उनको सुझाव र समन्वयपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो।
अहिले नेपालमै रहेका डिक्सले बाढी र हिलोले पुरिएका विभिन्न संरचना तथा सुरुङको निरीक्षण गर्दै उद्धार अभियानमा प्राविधिक निर्देशन दिइरहेका छन्। सुरक्षित हावाका सम्भावित स्थानमा मानिस जीवित हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राखेर खोजी जारी राखिएको छ।
उद्धार अभियान अन्तिमसम्म जारी राख्ने दृढता व्यक्त गर्दै डिक्सले पूर्व होस् वा पश्चिम, उद्धारकर्ताको मूल्यांकन केवल कति जीवन बचाइयो भन्नेबाट मात्र नभई कुन जीवनलाई त्याग्न अस्वीकार गरियो भन्नेबाट पनि हुने बताएका छन्।





