आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। सनातन हिन्दू परम्पराअनुसार आजको दिनलाई ‘बुवाको मुख हेर्ने पर्व’ तथा पितृ औँसीका रूपमा श्रद्धा र सम्मानपूर्वक मनाइँदैछ।
यस दिन छोराछोरीहरूले आफ्ना जीवित बुवालाई मनपर्ने परिकार, फलफूल तथा मिठाई खुवाएर र नयाँ वस्त्र तथा उपहार दिएर सम्मान गर्ने र आशीर्वाद लिने परम्परा छ।
बुवाको आशीर्वाद प्राप्त गरेमा सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वासका कारण घरबाट टाढा रहेका सन्तानसमेत समय निकालेर बुवाको मुख हेर्न घर पुग्ने गर्छन्।
बुवा दिवंगत भइसकेकाहरू भने आज विभिन्न पवित्र तीर्थस्थलमा पुगेर पितृको सम्झनामा श्राद्ध, तर्पण तथा दानपुण्य गर्ने गर्छन्।
यसै अवसरमा काठमाडौँको उत्तरपूर्वमा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको छ।
त्यस्तै, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्रलगायतका तीर्थस्थलमा पनि स्नान गरी पितृको उद्धार तथा मोक्षको कामना गर्ने भक्तजनहरूको भीड लागेको छ।





