- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १७ वैशाख । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नक्सासम्बन्धी सामग्री विवादमा परेपछि नेपाल एयरलाइन्सले उक्त पोस्ट हटाउँदै भारतसँग औपचारिक रूपमा माफी मागेको छ।
एयरलाइन्सले आफ्नो उडान सञ्जाल देखाउने उद्देश्यले सार्वजनिक गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई गलत रूपमा पाकिस्तानतर्फ समावेश गरिएको थियो। यस त्रुटिपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि संस्थाले तुरुन्तै प्रतिक्रिया जनाउँदै सामग्री हटाएको हो।
नेपाल एयरलाइन्सले जारी गरेको स्पष्टीकरणमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि भएको स्वीकार गरिएको छ। साथै, यस्तो प्रस्तुतीकरणले नेपालको वा संस्थाको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारिएको छ।
“हाम्रो सामाजिक सञ्जालमार्फत प्रकाशित नेटवर्क नक्सामा भएको त्रुटिप्रति हामी हार्दिक क्षमायाचना गर्दछौँ,” एयरलाइन्सले उल्लेख गरेको छ।
यस घटनापछि डिजिटल सामग्री प्रकाशनमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।