जनता समाजवादी पार्टी नेपालले सरकारले निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन तथा सूचना उपलब्ध नगराउने निर्णयप्रति कडा आपत्ति जनाएको छ। पार्टीले उक्त कदमलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रूपमा व्याख्या गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सङ्घीय मन्त्रालय, आयोग, सचिवालयसहित प्रदेश र स्थानीय तहलाई सरकारी सूचना तथा विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको थियो।
जसपा नेपालले जारी गरेको विज्ञप्तिमा यो निर्णय लोकतान्त्रिक मूल्य र अभ्यासविपरीत रहेको उल्लेख गर्दै निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने उद्देश्य देखिएको आरोप लगाइएको छ। पार्टीका अनुसार, यस्तो कदमले सञ्चार क्षेत्रलाई नियन्त्रणमा राख्ने प्रयास झल्काउँछ।
पार्टीले निजी सञ्चारमाध्यमहरू लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तिनलाई विज्ञापनबाट वञ्चित गर्नु अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको गम्भीर प्रहार भएको बताएको छ।
वर्तमान आर्थिक चुनौतीका बीच निजी सञ्चारमाध्यमहरू पहिले नै दबाबमा रहेको अवस्थामा सरकारले थप आर्थिक संकट सिर्जना गरेको जसपाको भनाइ छ। विज्ञापन रोकिँदा कतिपय मिडिया बन्द हुने र पत्रकारहरू बेरोजगार हुने जोखिम बढ्ने चेतावनी पनि दिइएको छ।
जसपा नेपालले यस निर्णयले अप्रत्यक्ष रूपमा प्रेसमाथि नियन्त्रण र सेन्सरसिपको वातावरण सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने भन्दै सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ।