- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभामा संसदीय दलको नेतृत्व परिवर्तन गर्ने प्रयास उचित नहुने बताएका छन्।
पछिल्ला दिनहरूमा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाउने विषय चर्चामा रहेकै बेला विश्वकर्माले यस्तो धारणा सार्वजनिक गरेका हुन्। मंगलबार धुम्बाराहीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हालको अवस्थामा नेतृत्व परिवर्तन गर्नु उचित नहुने स्पष्ट पारे।
उनले वर्तमान दलका नेता सिटौला वरिष्ठ र अनुभवी नेतृत्व भएकाले उनलाई हटाउने कदमले सकारात्मक परिणाम नदिने बताए। “अहिले नेतृत्व परिवर्तन गरेर के हासिल हुन्छ?” भन्ने प्रश्न गर्दै उनले यसले न त सरकार निर्माणमा सहयोग पुग्ने, न त पार्टीलाई कुनै उल्लेखनीय लाभ हुने तर्क गरे।
विश्वकर्माले पार्टीभित्र आन्तरिक विवाद बढाउनु भन्दा संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्यको रक्षा र सरकारका गतिविधिमाथि प्रभावकारी खबरदारी गर्नु प्राथमिकता हुनुपर्ने धारणा राखे। आफ्नै दलका नेताविरुद्ध अनावश्यक विवाद सिर्जना गर्दा पार्टी र लोकतान्त्रिक अभ्यास दुवै कमजोर हुने उनले चेतावनी दिए।
उनका अनुसार, वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तनको बहसभन्दा पार्टीलाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ।