Thursday, April 30, 2026

रेशम चौधरीको स्वीकारोक्ति: ‘एजेन्डा जनतासम्म पुर्‍याउन नसक्दा चुनावमा हार’


नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो पार्टीले चुनावमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको मुख्य कारण जनतासम्म एजेन्डा र कार्यदिशा प्रभावकारी रूपमा पुर्‍याउन नसक्नु रहेको बताएका छन्।

रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीबाट अलग भएर नयाँ दल गठन गरी चुनावमा होमिएका चौधरीले विभिन्न दलसँग गठबन्धन गरेर प्रतिस्पर्धा गरे पनि एक सिटसमेत जित्न सकेनन्। यसबारे प्रतिक्रिया दिँदै उनले पार्टीको योजना, नीति र उद्देश्य जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न नसकिएको स्वीकार गरे।

उनका अनुसार पार्टीभित्रको आन्तरिक द्वन्द्व, असमझदारी र संगठनात्मक कमजोरीले पनि निर्वाचन परिणाममा नकारात्मक असर पारेको हो। साथै, उनको उम्मेदवारी खारेज भएपछि समर्थकहरूमा निराशा बढ्दा मत परिणाममा असर परेको उनले बताए।

चौधरीले पछिल्लो चुनावमा नयाँ पुस्ताको प्रभाव बढेको र मतदाताले वैकल्पिक शक्ति खोज्ने क्रममा नयाँ अनुहारप्रति आकर्षण देखाएको पनि उल्लेख गरे। उनले जनताको तीव्र परिवर्तन चाहना र नयाँ राजनीतिक शैलीप्रतिको आकर्षणलाई बुझ्न नसक्दा आफूहरू पछि परेको बताए।

आगामी दिनमा पार्टीले नयाँ रणनीति र शैली अपनाएर जनतासमक्ष जाने तयारी भइरहेको बताउँदै उनले अर्को निर्वाचनमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे। साथै, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै राजनीतिको दिशा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like