Thursday, April 30, 2026

रास्वपाका वरिष्ठ नेता बालेन शाह पार्टी बैठकमा निरन्तर अनुपस्थित, आन्तरिक बहस चुलिँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह पार्टीका नियमित बैठकहरूमा निरन्तर अनुपस्थित रहँदै आएका छन्। पार्टीभित्र उच्च पदमा रहे पनि पछिल्लो समय उनी केन्द्रीय समिति तथा सचिवालयका महत्वपूर्ण बैठकमा सहभागी नहुने क्रम बढेको छ।

पुस १३ गते रास्वपा सभापति रवि लामिछानेसँग भएको ७ बुँदे सहमति अनुसार बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको थियो। त्यसपछि उनले पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी ग्रहण गरेका थिए। काठमाडौँ महानगर प्रमुख पदबाट राजीनामा दिएपछि उनी चुनावी अभियानमा सक्रिय भए पनि पार्टी बैठकहरूमा भने सीमित उपस्थिति देखिएको छ।

निर्वाचनपछि केही महत्वपूर्ण बैठकमा सहभागी भए पनि चैतपछि बसेका धेरैजसो सचिवालय तथा केन्द्रीय समिति बैठकमा उनी अनुपस्थित रहेका छन्। पार्टी प्रशिक्षण कार्यक्रमदेखि लिएर नीति तथा संगठनात्मक निर्णयसँग सम्बन्धित बैठकमा समेत उनी नदेखिएपछि पार्टीभित्र विभिन्न प्रश्न उठ्न थालेका छन्।

यद्यपि पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेन आमन्त्रित वरिष्ठ नेता भएकाले आवश्यकता अनुसार मात्र बैठकमा सहभागी हुने स्पष्ट पारेका छन्। उनका अनुसार बालेनले आवश्यक परेमा बैठकमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् र अनुपस्थितिलाई अस्वाभाविक रूपमा लिन नहुने धारणा पार्टीको छ।

पार्टीको आधिकारिक संरचनामा बालेनलाई दोस्रो वरीयतामा राखिएको छ। तर पछिल्ला गतिविधिमा उनको सीमित सहभागिताले रास्वपाभित्र नेतृत्व र समन्वयबारे चर्चा भने बढ्दै गएको देखिन्छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like