Thursday, January 15, 2026

नेपाली कांग्रेसमा विवाद चुलिँदै, आज विशेष महाधिवेशन आह्वान हुँदै


२३ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र जारी विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुने भएको छ । विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई औपचारिक रूपमा आह्वान गर्ने तयारी गरेको हो ।

विशेष महाधिवेशनका लागि सचिवालयको तर्फबाट शान्ति सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पत्राचार गरिएको जानकारी नेता मनोजमणि आचार्यले दिएका छन् । उनका अनुसार आज बिहान करिब ११ बजे पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन अभियानकर्ता पक्षधरको तर्फबाट सबै प्रतिनिधिलाई सहभागिताका लागि आमन्त्रण गरिनेछ ।

आचार्यका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन् । “आज कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीज्यूहरूले पनि यस विषयमा आह्वान गर्नुहुनेछ,” उनले भने, “प्रेस विज्ञप्ति वा भिडियो सन्देशमार्फत् पनि आह्वान हुन सक्छ ।”

विशेष महाधिवेशन सचिवालयले मंगलबार शान्ति सुरक्षाको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ । साथै विशेष पक्षधरले महाधिवेशनका लागि भृकुटीमण्डपसमेत पहिल्यै बुकिङ गरिसकेको जनाएको छ ।

सचिवालयले विशेष महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समितिहरू पनि गठन गरिसकेको छ । महामन्त्रीद्वय थापा–शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको दाबी गर्दै आएको छ ।

तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिँदै आएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like