- by समाचार कक्ष
- Mar 06, 2025
म्यान्मारकी प्रख्यात नेतृ आङ साङ सुकीलाई कारागारबाट सारेर घरमै नजरबन्दमा राखिएको छ। सैन्य शासनका प्रमुख मिन आङ लाइङले सुकीले बाँकी सजाय अब घरमै पूरा गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सत्ताबाट हटाइ हिरासतमा राखिएको थियो। उक्त कूको नेतृत्व पनि मिन आङ लाइङले नै गरेका थिए। सुकी यसअघि सन् २०१५ मा लोकतान्त्रिक निर्वाचनमार्फत सत्तामा पुगेकी थिइन्, जुन बेला म्यान्मारमा केही लोकतान्त्रिक सुधारहरू लागू गरिएका थिए।
सैन्य शासनविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएकी सुकीलाई यसअघि पनि करिब १५ वर्षसम्म घरमै नजरबन्दमा राखिएको इतिहास छ।
यसैबीच, बीबीसीका अनुसार म्यान्मारको सरकारी सञ्चारमाध्यमले हालै सुकीको एक तस्वीर सार्वजनिक गरेको छ, जसमा उनी दुई जना सुरक्षाकर्मीसँग देखिएकी छन्।
तर, उनका छोरा किम एरिसले उक्त दाबीप्रति शंका व्यक्त गर्दै आमाको अवस्था अझै स्पष्ट नभएको बताएका छन्। उनले सार्वजनिक गरिएको तस्वीरको विश्वसनीयतामाथि समेत प्रश्न उठाएका छन्।