- by समाचार कक्ष
- Mar 06, 2025
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई सोमबार अमेरिकी अदालतमा पेस गरिँदै छ। यही घटनाक्रमबीच लागुऔषध तस्करीको आरोप खेपिरहेका उनका छोरा निकोलस मादुरो गुएराले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्।
अमेरिकी सरकारको अभियोगपत्रमा ‘द प्रिन्स’ उपनाम दिइएका गुएरा हाल अमेरिकी सेनाको नियन्त्रणमा नरहेको बताइएको छ। बुवामाथि कारबाही अघि बढेको विषयमा टिप्पणी गर्दै उनले भेनेजुएलाका सडकमा उत्रिने चेतावनी दिएका छन्। भिडियो सन्देशमार्फत उनले भने, “तिमीहरूले हामीलाई भेनेजुएलाका सडकहरूमा देख्नेछौ। गद्दार को थियो भन्ने कुरा इतिहासले बताउनेछ।” अमेरिकाले गुएरामाथि पनि लागुऔषध तस्करीको अभियोग लगाएको छ।
यसैबीच, शनिबार बिहान अमेरिकाले भेनेजुएलामा गरेको सैनिक कारबाहीमा कति मानिस हताहत भए भन्ने यकिन विवरण अझै सार्वजनिक भइसकेको छैन। तर आक्रमणपछिको दिन राजधानी काराकास नजिकैको क्याटिया ला मार सहरमा ठुलो क्षति देखिएको छ। रोयटर्सका अनुसार सो क्षेत्रमा थुप्रै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ।
स्थानीय बासिन्दा जोनाथन मलोरा र एन्जल अल्भारेजले विस्फोटको ठूलो आवाजले आफूहरू निद्राबाट ब्युँझिएको बताएका छन्। मोटरसाइकल ट्याक्सी चालक मलोराले आफ्ना छोराछोरी जोगिनु भाग्यको कुरा भएको बताए। “यो नितान्त भाग्य हो कि उनीहरूले मेरा बच्चाहरूलाई मारेनन्,” उनले भने। अर्का स्थानीय अल्भारेजले विस्फोटको आवाज सुन्दा के गर्ने भन्ने थाहा नै नपाएको बताए। “हामी चमत्कारले मात्र बाँचेका छौँ,” उनको भनाइ छ।
घटनाक्रमले भेनेजुएलामा राजनीतिक तनाव थप चर्किँदै गएको संकेत गरेको छ।