- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १७ वैशाख । मनोहरा नदीको बहाव परिवर्तनका कारण काठमाडौं र भक्तपुरबीच करिब ११५ रोपनी जग्गा अदलबदल भएको पाइएको छ। नदीले पुरानो धार छोडेर पश्चिमतर्फ सर्दा यस्तो अवस्था सिर्जना भएको हो।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार नदीलाई पुरानै नापी नक्सा (२०२१ साल) अनुसारको धारमा फर्काउने तयारी भइरहेको छ। यसै सन्दर्भमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक र प्रशासनिक टोलीसँग छलफल गर्दै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन्।
नदीको धार परिवर्तनसँगै काठमाडौंतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ सरेको छ भने भक्तपुरतर्फको झण्डै १५ रोपनी जग्गा काठमाडौंतर्फ आएको छ। यसले सीमा क्षेत्रका जग्गा व्यवस्थापनमा जटिलता थपेको छ।
महानगरले अब कानुनी प्रक्रिया पूरा गरी डिपीआरअनुसार नदीको बहाव क्षेत्र कायम गर्ने योजना अघि बढाएको छ। साथै, नदी किनारमा रहेका अव्यवस्थित बस्ती व्यवस्थापन, संरचना हटाउने, पुनर्वास तथा क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ।
आयोजना प्रमुख निर्मलराज बरालका अनुसार करिब १.५ किलोमिटर नदी क्षेत्रमध्ये ५७५ मिटर भाग मात्र पुरानै अवस्थामा रहेको छ भने बाँकी क्षेत्रमा नदीको धार परिवर्तन भइसकेको छ। प्रभावित क्षेत्रमा रहेका घरटहरा हटाएर पुनः जग्गा मिलान (रिप्लटिङ) प्रक्रिया समेत सुरु भइसकेको जनाइएको छ।
महानगरले यस आयोजनालाई तीव्र गतिमा अघि बढाउँदै नदी व्यवस्थापन र भू–उपयोग सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ।