- by समाचार कक्ष
- Mar 06, 2025
कपिलवस्तुको नगरपालिका–१२ पिप्रहवामा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी अनियन्त्रित भई सडक किनारमा रोकिराखिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मी रहेका छन्।
घाइते हुनेहरूमा महाराजगञ्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।