- by समाचार कक्ष
- Mar 06, 2025
२२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगलाई लिखित जवाफ पठाएका छन् । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनबारे बुझ्न आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मेयर शाहले पठाएको लिखित जवाफ आयोगमा प्राप्त भइसकेको छ । “उहाँले पठाउनुभएको लिखित जवाफ आयोगले पाइसकेको छ,” प्रवक्ता शर्माले जानकारी दिए ।
आयोगले बयान संकलनलगायतका प्रक्रिया पूरा गर्दै अब प्रतिवेदन लेखनको चरणमा प्रवेश गरेको जनाएको छ । गत साता आयोगले गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य तथा बयानसमेत लिएको थियो ।
यसअघि आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न विवरण र तथ्यांक संकलन गरिसकेको छ । तल्ला तहका सुरक्षा अधिकारीहरूसँग बयान लिएपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय तथा प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग पनि बयान लिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायतसँग समेत आयोगले बयान लिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले पनि आफ्ना अधिकारीहरूसहित आयोगमा उपस्थित भई बयान दिएका थिए । आयोगले प्रारम्भिक चरणमै पूर्वगृहमन्त्री रवि लामिछानेलगायतका व्यक्तिहरूसँग बयान लिएको थियो ।