- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ६९२ जना सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको सक्रिय निगरानी र कारबाहीबाट राज्य कोषमा ७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघन गर्ने विभिन्न गतिविधिमा संलग्न चालकहरूलाई कारबाही गरिएको हो। ट्राफिक संकेत नमानेका २२४ जना, अत्यधिक गतिमा सवारी चलाउने १३२ जना र मादक पदार्थ सेवन गरेर गाडी चलाउने ९१ जना पक्राउ परेका छन्। यस्तै, प्राविधिक रूपमा अयोग्य सवारी चलाउने ६३ जनालाई पनि कारबाही गरिएको छ।
यसका अतिरिक्त, लेन अनुशासन उल्लंघन गर्ने २३७ जना, सार्वजनिक सवारीका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७ जना, निषेधित स्थानमा हर्न बजाउने ७८ जना तथा तोकिएको स्थान बाहेक यात्रु चढाउने–ओराल्ने ४० जना चालक पनि कारबाहीमा परेका छन्। अन्य विभिन्न नियम उल्लंघन गर्ने १ हजार ७८० जनामाथि समेत कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।