- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १५ वैशाख । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध दायर दुई वटा भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा पुनः सुनुवाइ हुँदैछ।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा शर्माविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन तथा राजस्व चुहावटसम्बन्धी मुद्दाको पेसी तोकिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगमार्फत करदातालाई अवैध रूपमा ठूलो मात्रामा कर छुट दिइएको भन्दै शर्मासहितका पदाधिकारीमाथि मुद्दा दायर गरेको थियो। आयोगले उक्त निर्णय प्रक्रियामा बदनियत देखिएको र राज्यलाई अर्बौं रुपैयाँको राजस्व नोक्सान भएको आरोप लगाएको छ।
यसअघि विशेष अदालतले शर्मासहित कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको थियो। तर सो फैसलाविरुद्ध उनीहरू सर्वोच्च अदालत पुगेपछि सर्वोच्चले स्वच्छ सुनुवाइमा प्रश्न उठाउँदै मुद्दा पुनः विशेष अदालतमा पठाएको हो।
त्यसैअनुसार अहिले मुद्दा पुनः सुनुवाइको प्रक्रियामा प्रवेश गरेको छ।
अर्को मुद्दामा भने शर्मामाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप छ। अख्तियारका अनुसार उनले सेवाकालमा वैध आम्दानीभन्दा करिब चार करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएको छ। यस प्रकरणमा उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत प्रतिवादी बनाइएको छ।
अब विशेष अदालतको पुनः सुनुवाइबाट यस बहुचर्चित प्रकरणको कानुनी दिशाबारे नयाँ निर्णय आउने अपेक्षा गरिएको छ।