- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनपछि पार्टीले केही सिट गुमाए पनि आफ्नो राजनीतिक एजेण्डा अझै सशक्त रहेको दाबी गरेका छन्। तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले राप्रपा गणितमा कमजोर देखिए पनि राजनीतिक रूपमा पराजित नभएको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालको उपलब्धिलाई “चमत्कारिक” भन्दै दीर्घकालीन रूपमा त्यसलाई कायम राख्न कठिन हुने टिप्पणी गरे। “सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ सधैं बस्न सकिँदैन, अन्ततः तल झर्नैपर्छ,” उनले भने।
लिङ्देनले राप्रपालाई देशको भरपर्दो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै योजनाबद्ध रूपमा अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।
राजसंस्थासम्बन्धी विवादलाई सम्बोधन गर्दै उनले राप्रपा कुनै व्यक्तिको नभई राजसंस्था मान्नेहरूको पार्टी भएको स्पष्ट पारे। “राजा र राजसंस्था कुनै दलका हुँदैनन्, राजसंस्था सबैभन्दा माथि रहने संस्था हो,” उनले भने। राप्रपालाई ‘राजाको पार्टी’ भनेर प्रचार गर्नेहरू वास्तविक रूपमा राजसंस्थाको पक्षमा नरहेको उनको भनाइ थियो।
सरकारमा सहभागिताबारे उठ्ने आलोचनाको जवाफ दिँदै उनले जिम्मेवारी नलिँदैमा पार्टी बलियो नहुने तर्क राखे। उनले नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता दलहरूको उदाहरण दिँदै सिद्धान्तसँगै व्यवहारिक भूमिकामा पनि सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे।
पार्टीभित्रको अनुशासनहीनता र विवादबारे बोल्दै लिङ्देनले अब कडाइका साथ कारबाही अगाडि बढाइएको बताए। “अहिलेसम्म लचिलो हुँदा त्यसलाई कमजोरी ठानियो, अब अनुशासन उल्लङ्घन गर्ने कसैलाई छुट छैन,” उनले चेतावनी दिए।
राप्रपाले हाल सातै प्रदेशमा निर्वाचन समीक्षा अभियान सञ्चालन गरिरहेको छ। केही प्रदेशमा समीक्षा सम्पन्न भइसकेको छ भने बाँकी प्रदेशमा आगामी दिनमा कार्यक्रम तय गरिएको छ। साथै, जिल्ला अधिवेशनपछि महाधिवेशन गर्ने तयारी रहेको पनि लिङ्देनले जानकारी दिएका छन्।