Thursday, April 30, 2026

बजारको तरलता नियन्त्रणमा राष्ट्र बैंकको कडाइ: एकैदिन १ खर्ब २० अर्ब निक्षेप तान्दै


नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले शुक्रबार दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप उठाउने समय निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार १९ दिन अवधिका लागि निक्षेप संकलन गरिनेछ। यस प्रक्रियामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सक्नेछन्। बोलकबोल गर्दा रकमसँगै ब्याजदर पनि दशमलव पछाडि चार अंकसम्म उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ, जहाँ कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। समान ब्याजदर प्रस्ताव भएमा ‘प्रो–रेट’ आधारमा रकम बाँडफाँड गरिनेछ।

यो प्रक्रियामा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। संकलित निक्षेपको सावाँ तथा ब्याज वैशाख ३० गते भुक्तानी गरिनेछ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनलाई सन्तुलित राख्न यस्तो कदम चालेको जनाएको छ, जसले बजारमा पैसाको प्रवाहलाई नियन्त्रण गरी वित्तीय स्थायित्व कायम राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like