Wednesday, August 26, 2026

अनशन तोड्न सोनम वाङचुकका तीन सर्त, ‘सरकारले शिक्षा प्रणालीको असफलताको जिम्मेवारी लिनुपर्छ’


नयाँ दिल्ली, ४ साउन — सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्नो आमरण अनशन अन्त्य गर्ने सर्तहरू सार्वजनिक गरेका छन्। उनले निश्चित अवस्था सिर्जना भए वा आफूले अघि सारेका सर्तमध्ये कुनै एक पूरा भए मात्रै भोक हडताल अन्त्य गर्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको लिखित सन्देशमा वाङचुकले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको आरोपसमेत लगाएका छन्।

नीट परीक्षामा भएको भनिएको प्रश्नपत्र चुहावट र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै वाङचुक दिल्लीको जन्तर–मन्तरमा अनिश्चितकालीन भोक हडतालमा बसेका थिए। गत जुलाई १८ मा दिल्ली प्रहरीले उनलाई त्यहाँबाट हटाएर सफदरजङ अस्पताल पुर्‍याएको थियो। अस्पतालमा भर्ना गरिएपछि पनि उनले अनशनलाई निरन्तरता दिएका छन्। सोमबार उनको अनशन २३औँ दिनमा पुगेको छ।

अस्पतालबाटै हातले लेखेको पत्रमा वाङचुकले तीनमध्ये कुनै एक सर्त पूरा भएमा जुलाई २० मा अनशन तोड्ने उल्लेख गरेका छन्।

उनको पहिलो सर्तअनुसार सरकारले प्रश्नपत्र चुहावटलगायत शिक्षा प्रणालीमा देखिएका हालका कमजोरी र असफलताको जिम्मेवारी सार्वजनिक रूपमा स्वीकार गर्नुपर्नेछ। दोस्रो सर्तमा सांसदहरू तथा ककरोच जनता पार्टी (सीजेपी) का नेताहरूले यो विषय संसद्मा गम्भीर रूपमा उठाउने प्रतिबद्धता जनाएमा पनि अनशन अन्त्य गर्न सकिने उल्लेख छ।

तेस्रो सर्तका रूपमा स्वास्थ्य अवस्था वा अन्य कारणले अनशन जारी राख्न नसक्ने परिस्थिति आएमा विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरू अस्पतालमै आएर शिक्षा सुधारका विषयमा प्रतिबद्धता जनाएपछि अनशन तोड्ने उनले बताएका छन्।

जुलाई १९ मिति उल्लेख गरिएको पत्रमा वाङचुकले सफदरजङ अस्पतालमा आफूलाई गैरकानुनी हिरासतमा राखिएको, हिँडडुल, अभिव्यक्ति र सञ्चार स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको आरोप पनि लगाएका छन्।

यसबीच, सीजेपीले सोमबार आयोजना गर्न लागेको शान्तिपूर्ण ‘संसद् मार्च’का लागि प्रहरीले अनुमति दिएको छैन। अनुमति नपाए पनि जन्तर–मन्तर क्षेत्रमा सयौँ समर्थक भेला भएका छन्। सीजेपीका संस्थापक अभिजित दीपकेले समर्थकहरूलाई आन्दोलन जारी राख्न आग्रह गरेका छन्।

वाङचुककी पत्नी गीताञ्जली आङमोले पनि शिक्षा प्रणालीको जवाफदेहिताको मुद्दा संसद्मा उठाउने स्पष्ट प्रतिबद्धता आएमा वाङचुकले अनशन अन्त्य गर्न सक्ने बताएकी छन्। प्रदर्शनकारीहरूले नीट परीक्षाको प्रश्नपत्र चुहावट, शिक्षा क्षेत्रमा देखिएको अनियमितता तथा विद्यार्थी आत्महत्याका घटनाको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like