- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ४ साउन — यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।
विभागका अनुसार अब नयाँ लाइसेन्सका लागि आवेदन, नवीकरण, राजस्व भुक्तानी तथा अन्य सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ। सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
अनलाइन सेवालाई थप व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। सेवाग्राहीले आफ्नो स्थायी ठेगाना रहेको प्रदेशअनुसारको पोर्टलमार्फत आवश्यक सेवा लिन सक्नेछन्।
विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन गर्दा व्यक्तिगत विवरण स्वतः प्रणालीमा समावेश हुनेछ, जसले आवेदन प्रक्रिया थप सहज र छरितो बनाउनेछ।
नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीका लागि भने हालसम्मकै व्यवस्था कायम रहनेछ। उनीहरूले व्यक्तिगत विवरण आफैं भरेर अनलाइन आवेदन दिन सक्नेछन्।
विभागले पूर्ण रूपमा अनलाइन प्रणाली लागू भएसँगै फाराम भर्न, राजस्व तिर्न तथा अन्य प्रक्रियाका लागि कार्यालय र बैंकमा लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरेको छ। साथै यसले सेवा प्रवाहलाई थप छिटो, पारदर्शी, प्रभावकारी र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ।