Thursday, April 30, 2026

ट्रम्पका विश्वासपात्र अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ताको तयारी


दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने गोर वैशाख १७ गते भारतबाट सिधै नेपाल आउने कार्यक्रम तय भएको छ, जहाँ उनी करिब चार दिन बस्नेछन्।

उनको भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह सँग भेटवार्ता हुने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्। यद्यपि प्रधानमन्त्री कार्यालयले भने हालसम्म कुनै औपचारिक भेट निश्चित नभएको स्पष्ट पारेको छ। विगतमा पनि अमेरिकी उच्च अधिकारीहरूको भेटघाट प्रयास भए पनि समय नपाएको उदाहरण रहेको छ।

गोरको भ्रमणबारे कूटनीतिक तयारीका क्रममा भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले अमेरिकी दूतावाससँग समन्वय गरेका थिए। यसअघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका सहायक मन्त्री एस. पावल कपुरले पनि उच्चस्तरीय भेटघाट गरेका थिए।

नेपालमा करिब चार महिनादेखि अमेरिकी राजदूत रिक्त रहेको अवस्थामा भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपाल मामिला पनि हेर्दै आएका छन्। कूटनीतिज्ञहरूका अनुसार उनको यो भ्रमण औपचारिक राजदूतस्तरको मात्र नभई रणनीतिक महत्त्व बोकेको उच्चस्तरीय कूटनीतिक पहलका रूपमा हेरिएको छ।

भूराजनीतिक दृष्टिले संवेदनशील मानिएको यस भ्रमणले नेपाल–अमेरिका सम्बन्ध र क्षेत्रीय कूटनीतिक समीकरणमा चासो बढाएको विश्लेषकहरूको भनाइ छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like