Thursday, April 30, 2026

नेप्सेमा करेक्सन, तर कारोबारमा उछाल: एकैदिन २१ अर्ब ५० करोडको सेयर किनबेच


काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। अघिल्लो दिन १६२ अंकले ऐतिहासिक वृद्धि भएको बजारमा मंगलबार भने ३२.०८ अंकको करेक्सन देखिएको हो। यससँगै नेप्से परिसूचक घटेर २८४३.३५ विन्दुमा झरेको छ।

परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेखनीय उछाल आएको छ। मंगलबार ३२९ वटा कम्पनीका ५ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम करिब सात महिनायताकै उच्च कारोबार मानिएको छ।

आजको कारोबारमा ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

समग्र बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन्। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी सालपा विकास बैंकको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ९.०८ प्रतिशत र कालिका पावर कम्पनीको ८.८७ प्रतिशतले वृद्धि भएको छ। हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य पनि ६.३६ प्रतिशतले बढेको छ।

समूहगत सूचकतर्फ मंगलबार म्युचुअल फण्ड, जीवन बीमा र निर्जीवन बीमा समूहमा सुधार देखिएको छ भने अन्य अधिकांश समूहका सूचक घटेका छन्।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख, अपी पावरको ६१ करोड ६८ लाख र रिडि हाइड्रोपावरको ५९ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like

  • by समाचार कक्ष
  • Jul 16, 2025
बैंकहरूले घटाए ब्याजदर