Thursday, January 15, 2026

मेलम्चीमा मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले पाए आँखाको ज्योति


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालन गरिएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।

मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र, मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया गरेको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीकी प्रमुख कृतिका वैद्यले जानकारी दिइन् ।

उनका अनुसार शल्यक्रियापछि दृष्टि गुमाएका बिरामीहरूले पुनः आँखाको ज्योति पाएपछि अत्यन्तै खुसी व्यक्त गरेका छन् । पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखासम्बन्धी समस्या भएका बिरामीहरूको परीक्षण र आवश्यक शल्यक्रिया गरिएको थियो ।

तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउन्डेशनको संयुक्त आयोजनामा तथा मेलम्ची नगरपालिकासँगको समन्वयमा उक्त शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न गरिएको हो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like