- by समाचार कक्ष
- Mar 06, 2025
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने आन्दोलनकारीले आफ्नो आन्दोलनको आत्मसमीक्षा गर्दै जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै उनले जेनजी प्रदर्शनकारीले पनि आफ्ना गतिविधिबारे आत्ममूल्यांकन गर्नुपर्ने स्पष्ट पारेका हुन् ।
‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदनमा महामन्त्री शर्माले ‘जेनजीले गर्नुपर्ने आत्मसमीक्षा’ शीर्षकअन्तर्गत यो धारणा अघि सारेका छन् । उनले २०४२ सालको सत्याग्रहको उदाहरण दिँदै बम विस्फोटपछि नेपाली कांग्रेसले सम्पूर्ण आन्दोलन स्थगित गरेको घटनालाई उच्च नैतिक अभ्यासका रूपमा उल्लेख गरे ।
‘आजको मितिमा जेनजी प्रदर्शनकारीले आफ्नो आह्वान, संलग्नता र कर्मअनुसारको जिम्मेवारी आत्मसमीक्षा गर्दै लिनुपर्छ,’ शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
महामन्त्री शर्माले भदौ २३ गतेको घटनामा अत्यधिक बल प्रयोगका कारण युवाहरूको ज्यान गएको विषय गम्भीर र निन्दनीय भएको उल्लेख गर्दै दोषीमाथि कारबाही अनिवार्य भएको बताए । साथै, भदौ २४ गते देशभर भएको आगजनी र ध्वंसका घटनालाई पनि अलग्गै राखेर निष्पक्ष छानबिन र कारबाही हुनुपर्नेमा जोड दिए ।
उनले एकतर्फ २३ गतेको घटना मात्र सम्झिने र २४ गतेको ध्वंस बिर्सने, वा त्यसको उल्टो प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् । त्यसैले दुवै दिनका घटनामाथि निष्पक्ष अनुसन्धान र जिम्मेवार ढंगले प्रक्रिया सघाउन सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।
प्रतिवेदनमा महामन्त्री शर्माले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यतामा अटल रहने तर समयअनुसार एजेन्डामा लचकता अपनाउँदै अघि बढ्ने पार्टी भएको उल्लेख गरेका छन् । सुशासन, सद्भाव र समुन्नतिलाई आजको नेपालको प्रमुख तीन एजेन्डा भन्दै विशेष महाधिवेशनले यिनै आधारमा आगामी राजनीतिक कार्यदिशा तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनले मूलतः सुशासनको खोजी गरेको उल्लेख गर्दै उनले यस विषयमा कुनै पनि राजनीतिक पक्षबीच मतभेद हुन नहुने धारणा राखेका छन् ।