Thursday, April 30, 2026

बजेट क्यालेन्डर तय: नीति तथा कार्यक्रमपछि मात्र प्रि-बजेट छलफल, जेठ १५ मा बजेट पेश हुने तयारी


संघीय संसद नेपालको आगामी बजेट अधिवेशनका लागि विस्तृत कार्यतालिका (बजेट क्यालेन्डर) लगभग टुंगिएको छ। नयाँ व्यवस्था अनुसार अब सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि मात्र प्रि–बजेट छलफल हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसदको दुवै सदनको बजेट अधिवेशन आह्वान गरेका छन्।

यसअघि चैत २७ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो। त्यसपछि संसदीय समितिहरू गठन भए पनि अब औपचारिक रूपमा बजेट केन्द्रित अधिवेशन सुरु हुन लागेको हो।

बजेट अधिवेशनको पहिलो चरणमा सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिनेछ। त्यसपछि मात्र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट छलफल) अघि बढाइने तयारी छ। अन्त्यमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ।

सभामुख देवराज घिमिरे र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भएको छलफलपछि यस्तो कार्यतालिका तय गरिएको हो। संसदका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ क्यालेन्डरअनुसार नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

सरकारी स्रोतका अनुसार वैशाख २० देखि २२ गतेभित्र संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। त्यसपछि करिब पाँच दिनसम्म छलफल गरी नीति तथा कार्यक्रम पारित गरिनेछ।

त्यसपछि वैशाख २७ वा २८ गते अर्थमन्त्रीले प्रि–बजेट छलफल प्रस्तुत गर्ने तयारी गरिएको छ। यसरी सम्पूर्ण प्रक्रिया पूरा गर्दै जेठ १५ गते बजेट सार्वजनिक हुनेछ।

यसअघि राजनीतिक अस्थिरताका कारण बजेट र नीति तथा कार्यक्रम फरक–फरक सरकारले ल्याउने अवस्था समेत देखिएको थियो। तर हालको संरचनामा स्थिर सरकार भएकाले एउटै सरकारले बजेट निर्माणदेखि कार्यान्वयनसम्म जिम्मा लिने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पाँच सदस्यीय टोलीले मस्यौदा लेखन कार्य अघि बढाइरहेको छ। समितिले मन्त्रालयगत छलफल गर्दै बजेटको सिद्धान्त, प्राथमिकता र खर्च संरचना तयार गरिरहेको छ।

सरकारले आगामी बजेटलाई सन्तुलित र रूपान्तरणमुखी बनाउने लक्ष्य राखेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार आगामी बजेट करिब १८ खर्ब ९० अर्ब रुपैयाँको आसपास रहने देखिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like